दुर्लभ वनस्पति संरक्षणमा समस्या

बाके । नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण सङ्कटमा परेको छ । सरकारले बजेट कटौती गरेपछि संरक्षणमा समस्या भएको वनस्पति अनुुसन्धान केन्द्र नेपालगञ्जका प्रमुख वरिष्ठ वैज्ञानिक सुनीलकुमार आचार्यले बताउनुभयो ।

“सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा उद्यानमा रहेका ४०० प्रजातिका दुर्लभ वनस्पति संरक्षण गर्न समस्या भएको छ”, वरिष्ठ वैज्ञानिक आचार्यले भन्नुभयो । उहाँका अनुसार देशका विभिन्न स्थानबाट थरिथरि प्रजातिका वनस्पतिको अनुसन्धान गरी संरक्षण गर्न राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा रहेको वनस्पति उद्यानका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको छ ।

रकम नभएपछि संरक्षणमा खटिने नर्सरी नाइकेको पारिश्रमिक कटौती गरेर काममा लगाइएको छ । वनस्पति अध्ययन, संरक्षण तथा उद्यान विकासका लागि चालू आर्थिक वर्षमा सङ्घीय सरकारले रु १२ लाख विनियोजन गरेको छ । गत आर्थिक वर्ष पाँच वटा कार्यक्रमअन्तर्गत झन्डै ३० क्रियाकलापका लागि रकम विनियोजन भएको थियो । यस वर्ष तीन वटा कार्यक्रमका लागि बजेट विनियोजन नगरिएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।

सरकारले वनस्पति संरक्षण तथा उद्यान विकासमा चासो नदिएको उहाँको गुनासो छ । सङ्घीय सरकारले वनस्पति संरक्षण र उद्यान विकासको रकम अनुसन्धान केन्द्र भवन निर्माणमा लगाएको छ ।

यसअघि जिल्ला वनस्पति कार्यालयले दुर्लभ, लोपोन्मुख तथा रैथाने वनस्पति प्रजातिको सङ्कलन, संरक्षण तथा व्यवस्थापन, स्वदेशी शोभनीय फूल, बिरुवाको अध्ययन, अनुसन्धान, ल्यान्डस्केप तथा जाति विशेष उद्यानको नियमित संरक्षण तथा व्यवस्थापन गर्दै आएको थियो । रकम कटौतीले यी कार्यक्रम प्रभावित भएको वरिष्ठ वैज्ञानिक आचार्यले बताउनुभयो । उहाँका अनुसार, वनस्पति अध्ययन, अनुसन्धान तथा बजारीकरण, नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम र राप्ती नदी प्रणाली संरक्षण कार्यक्रम यस वर्ष रोकिएका छन् ।

“कृषकलाई वनस्पति र जडीबुटी तालीम दिन सकिने छैन । विभिन्न जाति र प्रजातिका वनस्पतिको अध्ययन तथा अनुसन्धानमा समेत असर पर्नेछ”, उहाँले भन्नुभयो । ढकेरी वनस्पति उद्यानमा सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, कुरिलो, बेतलौरी, आँख, राजवृक्ष, कालोमुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, हर्रो, बर्रो, सिन्दुर, अनन्तमूल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो, कालमेघ, छतिवन, पीपलालगायत ४०० दुर्लभ प्रजातिका वनस्पति संरक्षण गरिएको छ ।

सङ्कटापूर्ण सूचीमा रहेका दुर्लभ वनस्पति प्रजातिहरुको स्व–स्थानीय तथा पर–स्थानीय संरक्षण गर्ने र जडीबुटीजन्य वनस्पतिको अध्ययन, अवलोकन गर्न अनुसन्धानकर्ता, विद्यार्थी तथा अन्य सरोकारवालाका लागि अनुसन्धानको थलोका रूपमा विकास गर्ने उद्देश्यले उद्यान स्थापना गरिएको हो । यहाँ वनस्पतिको अवलोकन गर्न स्वदेशी तथा विदेशी विद्यार्थी, अनुसन्धानकर्ता र वनस्पतिको क्षेत्रमा काम गर्ने कार्यालयका प्रतिनिधि आउने गरेका छन् ।

यसको संरक्षण र विकास गर्न सके यसलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन केन्द्र बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here