यसै हप्ताभित्र सबै प्रदेशमा कोरोना परीक्षण सुरु

काठमाडौँ । नेपालमा यस अघि काठमाडौँको टेकुस्थित अस्पतालबाट मात्र रहेको कोरोना परीक्षणको सेवालाई यसै साताभित्र सबै प्रदेशबाट सुरु गरिने भएको छ । प्रदेश १ को धरानमा सुरु भई सकेको छ भने बाँकी प्रदेशमा परीक्षणका लागि प्रक्रिया सुरु गरिएको छ ।

असल छिमेकी मुलुक चीनबाट प्राप्त भएको मेसिन सहित सात वटै प्रदेशमा पुर्याउने र जडान गर्ने कार्य यसै साताभित्र सकेर परीक्षण सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्ता परीक्षण प्रयोगशालाहरू प्रदेश २ को जनकपुरमा, प्रदेश ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा अनि सुदूरपश्चिम प्रदेशको धनगढीमा हुनेछन्।

त्यस्तै पोखरा, नेपालगन्ज, दाङ र हेटौँडामा पनि थप प्रयोगशाला स्थापना गरिने बताइएको छ। यद्धपी ती स्थानमा परीक्षणका लागि अझै सामग्री आइ नसकेको पनि सरकारी अधिकारीले बताएका छन् ।

प्रयोगशालाका सामानसँगै स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री, सर्जिकल मास्कजस्ता सामान पनि सबै प्रदेशमा सोमवारसम्ममा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन अन्य प्रयास भए पनि कोभिड(१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको पर्याप्त नमुना परीक्षण भने हुन नसकेको गुनासो सबैतिर छ।

देशमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित व्यक्ति देखिएपछि राजधानी काठमाडौँमा सुरु गरिएको कोरोनाभाइरस सङ्क्रमणको परीक्षणलाई तीन दिनअघि मात्रै धरानमा विस्तार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here