काठमाडौँ । लमजुङ जिल्ला स्थितको दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले निस्काशन गरेको शेयर कोरोना भाइरसका कारणले रोकिएको छ ।
आयोजनाले सर्वसाधारणको लागि निस्काशन गरेको शेयर कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमका कारण रोकिएको हो ।
सरकारले लकडाउनको घोषणा गरेसंँगै शेयर बीचमै रोकिएको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडका सञ्चालक राजेन्द्र वस्तीले बताइका छन् ।
आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि फागुन २७ गतेदेखि छिटोमा चैत ११ र ढिलोमा चैत २६ गतेसम्मको समयमा लागि आवेदन खुला गरेको थियो । सरकारले लकडाउनका कार्यक्रम घोषणा गरेकोले चैत १० गतेबाट शेयर संकलन रोकिएको हो ।
आयोजनाले प्रति कित्ता एकसय रुपियाँ अंकित १५ करोड रुपियाँ मूल्य बराबरको १५ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ लाख कित्ता (३३.३३ प्रतिशत) अति प्रभावित दोर्दी गाँउपालिकाको वडा नम्बर ६ र ७ का स्थानीयका लागि छुट्याइएको थियो । ५ लाख कित्ता (३३.३३ प्रतिशत) दोर्दी गाँउपालिकाका बाँकी ७ वटा वडा र बेंसीसहर नगरपालिकाको वडा नम्बर ११ का स्थानीय र बाँकी (३३.३३ प्रतिशत) ५ लाख कित्ता जिल्लाबासीका लागि आब्हान गरेको थियो ।
स्थानीयले न्युनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।