एलिजाबेथ ओर्लेको विमानस्थल गौरचन

भरतपुर । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । त्यतिबेला चितवनको मेघौलीको रुप हेर्दा मेघौली जस्तो थिएन । नेपाल र बेलायतका तत्कालिन राजपरिवारका सदस्य, सरकारका सवारी मन्त्री, नेपाली सेनाको उच्च अधिकारी र सयौँ गोराहरुको भीड लागेको थियो त्यति बेला मेघौली विमानस्थलमा ।
पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । जग्गाको भाउ आकाशियो । मेघौली वरपर एक किसिमको हर्ष र बढाईँ चलेको थियो त्यति बेला । तर त्यो तामझाम र हर्ष बढाईँ धेरै समय टिक्न सकेन ।

सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि वि सं २०६७ को मङ्सिरदेखि विमानस्थल करिब करिब बन्द जस्तै भएको छ । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि हवाई सेवा नियमित छैन । वि सं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए । त्यसपछि मेघौली विमानस्थलमा नियमित उडान छैन । विमानस्थल गौरचन जस्तै छ ।

राजनीतिक दलको चुनावी नारादेखि चितवनको पर्यटन प्रवद्र्धनका योजनामा कुनै पनि कागजमा मेघौली विमानस्थल छुटेको हुँदैन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही क्षेत्रबाट चुनाव लडेपछि सो विमानस्थल नियमित हुने आशा स्थानीयवासीको थियो । प्रचण्डले यो विमानस्थलको सुचारु गराउने आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएका थिए । तर प्रचण्डले चुनाव जिते पछि उहाँको पनि त्यतातिर खासै ध्यान गएको देखिदैन ।

“कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सबै जहाजमा टाइगरटप्स जङ्गल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुने गर्दथे”, विगतको अनुभव सुनाउँदै स्थानीय बिमल भट्टराईले भन्नुभयो ।

सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमीनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ ।

विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मको क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here