तनहुँ । चोरी गरिएको काठ खरीद गर्ने तनहुँकी एक फर्निचर व्यवसायीलाई चोरी गरेको काठ सहित प्रहरीले पक्राउ गरेको छ ।
भानृु नगरपालिका–८ रायटारकी लक्ष्मी न्यौपाने सहितलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । फर्निचरको व्यवसाय गर्ने न्यौपानेले चोरी गरि ल्याईएको सालको काठ खरीद गरि विक्री गर्ने भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनु भयो । उप्रेतीका अनुसार व्यवसायी न्यौपानेले आफ्नो घर नजिकैको रहेको बुद्धबहादुर सार्कीको खाली रहेको घरगोठमा लुकाई राखेको अवस्थामा पक्राउ गरिएको हो । घर, गोठ र टौवा मूनि लुकाई राखेको ५२ थान सालको गोलिया काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको काठ एक सय २२ दशमलव ९२ क्यूफिट रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन ऐन २०४९ अनुसार काठको चोरीनिकासी गर्नेलाई छ महिना जेल , विगो जफत र विगो बराबर को जरिवाना गर्ने कानुनी प्रावधान रहेको सूचना अधिकृत उप्रेतीले जानकारी दिनु भयो । काठ सहित न्यौपानेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।